काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेट २०२३ आजबाट भारतमा सुरु भएको छ । उद्घाटन खेलमा साविक विजेता ईंग्ल्यान्ड र उपविजेता न्यूजिल्यान्ड भिड्दैछन् । न्यूजिल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेको छ । बलियो ब्याटिङ लाइन अप भएको ईंग्ल्यान्ड यस विश्वकपको पनि उपाधि दावेदार हो ।
ईंग्ल्यान्डका तर्फबाट जोनी बेयरस्टो र डेविड मलानले ब्याटिङ सुरु गरेका छन् । भेट्रान बलर ट्रेन्ट बोल्टले पहिलो ओभर बलिङ गर्न आएका छन् । न्यूजिल्यान्डसँग आज नियमित कप्तान केन विलियम्सन र प्रमुख बलर टिम साउथी छैनन् । उनीहरु चोटका कारण पहिलो म्याच खेल्न असमर्थ रहेका हुन् ।
कुनै औपचारिक उद्घाटन समारोहबिनै विश्वकप सुरु भएको हो । यसअघि बलिउड र टलिउडका स्टारहरु रणवीर सिंह, अरजित सिंह, तमन्नाह भाटिया, वरुण धवन, आशा भोस्ले, शंकर महादेवन लगायतले नरेन्द्र मोदी रंगशालामा बुधबार ४ देखि ७ बजेसम्म प्रस्तुति दिने भनिएको थियो । तर, टाइम्स अफ इन्डियाले विशेष सुत्रलाई उद्वृत गर्दै उद्घाटन समारोहको कुनै तयारी नगरिएको जनाएको छ ।
भारतले आफ्नो फ्रेन्चाइज लिग आइपीएलका लागि भने भव्य उद्घाटन समारोह आयोजना गरेको थियो । विश्वकप जस्तो महाउत्सवमा कुनै समारोह नराखिनुले विश्वभरका क्रिकेटप्रेमी आश्चर्यमा परेका छन् ।
Add Comment