मलालाले गरिन् इजरायल-हमास द्वन्द्वका बीच युद्धविरामको अपील

काठमाडौं । इजरायल र हमासबीच द्वन्द्व चर्किरहेका बेला नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले युद्धविरामका लागि अपील गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘विगत केही दिनदेखि म दुखद समाचार हेर्दैछु । म यो सबैमा फसेका प्यालेस्टिनी र इजरायली बालबालिकाको बारेमा सोचिरहेकी छु ।’

मलालाले लेखेकी छिन्, ‘केवल ११ वर्षकी हुँदा मैले हिंसा र आतंकवादको सामना गरेँ । हामीले हाम्रा विद्यालय र मस्जिदहरू बमले ध्वस्त भएका देख्यौँ । शान्ति भनेको हामीले सपनामा मात्रै देख्न सक्ने कुरा थियो ।’

उनले पोष्टमा अगाडि लेखेकी छन्, ‘युद्धले बालबालिकालाई छोड्दैन, चाहे इजरायलबाट अपहरण गरिएकाहरू र गाजामा खान र पिउनसमेत नपाएर लुकेर बसेकाहरू।’

नोबेल शान्ति पुरस्कार विजेता २६ वर्षीया मलाला युसुफजाईको जन्म पाकिस्तानमा भएको थियो । सन् २०१२ मा महिला शिक्षाको प्रवर्द्धनमा संलग्न मलालालाई तालिबान अतिवादीहरूले निशाना बनाएका थिए ।

यस आक्रमणबाट जोगिएकी मलाला त्यसपछि महिला शिक्षाको क्षेत्रमा काम गरिरहेकी छिन् ।