एमाले मधेस प्रदेश अधिवेशन : पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा मण्डल

काठमाडौं । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशनमा पदाधिकारी सर्वसम्मत भएको छ। अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएको केन्द्रीय सदस्य सरोज यादवले जानकारी दिए।

मण्डललाई पोलिट्ब्युरो सदस्य लीलानाथ श्रेष्ठले अघि सारेका थिए।

उपाध्यक्षमा पर्साका विचारी यादव छानिएका छन्। उनी संविधान सभा सदस्य हुन्। उनी पहिला माधवकुमार नेपाल समूहमा थिए। उनलाई रघुवीर महासेठले अघि सारेको बताएको छ।

सचिवमा बाराका मनोज पौडेल सर्वसम्मत भएका छन्। उनी पुरूषोत्तम पौडेलनिकट रहेको एक नेताले बताए।

उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका छन्।

‘सबैलाई समेटेर लैजान पदाधिकारीमा सर्वसम्मत गर्‍यौं। केहीबेरमा निर्वाचन प्रक्रिया सुरू हुन्छ। पदाधिकारीमा उहाँहरूले मात्रै मनोनयन दर्ता गर्नुहुन्छ,’ केन्द्रीय सदस्य तथा एमाले मधेस प्रदेश संसदीय दलका नेता यादवले भने।

एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ। आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ।

मधेस प्रदेश अधिवेशन बुधबारबाट जनकपुरमा सुरू भएको हो।