कांग्रेसलाई कहिले एमालेले,कहिले माओवादीले खेलाइदिने, हुँदा हुँदा राप्रपाले पनि खेलाइदिन थाल्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमितिको बैठकले चुनावअघि कुनै तहको निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गर्नुपर्ने बताएका छन् ।

कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धन पनि अहिले चारपाँच जना नेताहरुको प्राइभेट गफ जस्तो भएको टिप्पणी गरे ।

महामन्त्री थापाले भने, ‘नेपालमा मात्रै होइन, धेरै देशहरुमा अभ्यास छ । निर्वाचनमा कसैले बहुमत ल्याएन भने गठबन्धन बन्छ । फरक राजनीतिक दलहरुबीच गठबन्धन गर्दा हाम्रो विचार र कुरा मिल्दैन । त्यसैले साझा न्यूनतम कुरा भनेर बनाउनुपर्छ । के नेपाली कांग्रेसले फागुन ! गते जनयुद्ध दिवस भनेर मनाउन सक्छ ? हामी माओवादीसँग सरकारमा छौं । अहिलेमात्रै होइन म प्रचण्डको क्याबिनेटमा बसेर आएको हो । कांग्रेस र माओवादीको सरकार अहिलेमात्रै बनेको होइन । हामी सरकारमा गइसकेपछि कोही कसैसँग लतारिने होइन । हामीले सरकार बनाउने बेलामा नै प्रष्ट भन्न सक्नुपर्छ बरु बन्दैन भने बन्दैन ।’

उनले गठबन्धन दलका तीनचार जना नेताहरुको निर्णयलाई दलको मान्न नसकिने बताए ।

उनले भने, ‘जनताले अहिले कांग्रेस कांग्रेस जस्तो होस् भन्ने चाहेका छन् । कांग्रेसको माओवादीकरण नहोस्, त्यसलाई रोक्नुपर्छ । तर, त्यसलाई रोक्नुपर्छ भनेर फेरि प्रतिक्रियामा आएर एमालेकरण नहोस् । कांग्रेसको राप्रपाकरण पनि नहोस् । कांग्रेसलाई कहिले एमालेले खेलाइदिने, कहिले माओवादीले खेलाइदिने हुँदा हुँदा कहिलेकाहीँ त राप्रपाले पनि खेलाइदिन थाल्यो ।’