हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट सेढाईंलाई ‘मेडिकल स्कर्टिङ’ गरेर भारत लगियो

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ ।

उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा। निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरेका थिए । श्री एअरलाइन्सका प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार चार्टर्ड जहाज शनिबार बेलुकी ९:२० बजे मुम्बईको लागि उडेको थियो ।

आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरी बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी इन्चार्ज डा. निशान्त ढकालले जानकारी दिए ।

गम्भीर घाइते सेढाईंलाई ह्याम्स अस्पतालमा शनिबार डा. निशान्त ढकाल, डा. सन्तोष न्यौपाने, डा. राम कृष्ण बुढाथोकी, प्लास्टिक सर्जन डा. कृष्ण मानन्धर, पारामेडिक्सतर्फ सरोज चौधरी र बली जंग शाहीले उपचार गरेका थिए । शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ । घाइते पाइलटको उपचार ह्याम्समा इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको शरीर र हातको उपचारका लागि ह्याम्सको अपरेसन कक्षमा ‘डेब्रिडेमेन्ट’ र ‘इस्कराटोमी’ गरी उपचार भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो ।