एकीकृत समाजवादीले पनि कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासको मत लिने तयारी गर्दा समाजवादीले विश्वासको मत दिने निर्णय गरेको हो ।

नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धन कायम राख्न आफूहरूले विश्वासको मत दिन लागेको नेकपा एस कोशी प्रदेश संसदीय दलकी सचेतक विद्या चाम्लिङले जानकारी दिइन् ।

गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेका कार्कीलाई यसअघि नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

सचेतक चाम्लिङका अनुसार यस विषयमा पार्टीले आधिकारिक निर्णय नगरे पनि माथिल्लो कमिटीबाट विश्वासको मत दिने सङ्केत आएको छ ।

एस समाजवादीले विश्वासको मत दिएर सरकारमा समेत सहभागी हुने बताएको छ ।

चाम्लिङले भनिन्, ‘हाम्रो गठबन्धन छ, उहाँ (मुख्यमन्त्री केदार कार्की) ले गठबन्धनको निर्णय विपरीत काम गरे पनि प्रदेशमा स्थिरताका लागि हामी विश्वासको मत दिन्छौँ र सरकारमा सहभागी हुने सम्भावना धेरै छ ।’