एमाले छोडेर श्रीमान्‌को पार्टीमा लागेपछि गुम्यो मेयरको पद

काठमाडौं । निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहको पद रिक्त भएको जनाएको छ । एमाले पार्टीबाट निर्वाचित साह अन्य दलमा प्रवेश गरेपछि उनको पद स्वतः रिक्त भएको सूचना आयोगले आज प्रकाशन गरेको हो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित साह अन्य दलमा प्रवेश गरेको भन्दै एमालेले पद खारेजीका लागि आयोगमा निवेदन दिएको थियो । एमालेले दिएको उक्त निवेदनमाथि छानबिन गरी आयोगले नगर प्रमुख साहको पद स्वतस् रिक्त हुने जनाएको हो ।

पद खारेजीमा परेकी साह आम जनता पार्टीका नेता प्रभु साहकी श्रीमती हुन् । स्थानीय तहको चुनावका बेला प्रभु साहले मधेशमा एमालेबाट विद्रोह गरेका थिए । पछि उनले एमाले त्याग गरी आम जनता पार्टी गठन गरेका थिए ।

नगर प्रमुख साहले पनि पार्टीको नीति र निर्णयभन्दा बाहिर गएको भन्दै एमालेले पद खारेजीका लागि आयोगमा निवेदन दिएको थियो । निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम साहको पद स्वतः रिक्त भएको जनाएको छ ।

‘पार्टीको निर्णय आएपछि आयोगले रिक्त भएको जानकारी गराएको हो’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।