हमासले सार्वजनिक गर्‍यो बन्धक बनाइएकी एक जना महिलाको भिडिओ

परिवारकाे सहमतिमा बीबीसीले सार्वजनिक गरेकाे मायाकाे तस्वीर

काठमाडौं । अघिल्लो शनिबार इजरालयमाथि आक्रमण गरेको गाजाको मुस्लिम अतिवादी समूह हमासले बन्धक बनाइएकी एक जना महिलाको भिडिओ सार्वजनिक गरेको छ।

द न्युयोर्क टाइम्सका अनुसार सोमबार हमासले बन्धक बनाइएकी २१ वर्षीया मिया स्केमको भिडिओ सार्वजनिक गरेको हो।

भिडिओमा मिआको कुहिनोमा लागेको चोटको एक स्वास्थ्यकर्मीले उपचार गरिरहेको देखिन्छ। तर ती स्वास्थ्यकर्मीको अनुहार भिडिओमा देखिँदैन।

मिआ गत साता एकअघि एक सांगितिक कार्यक्रममा हमासले गरेको आक्रमणमा परेकी थिइन्। आक्रमणको दिनदेखि बेपत्ता भएकी उनलाई हमासले बन्धक बनाएर लगेको भिडिओ सार्वजनिक भएसँगै खुलेको हो।

एक मिनेट लामो भिडिओमा उनले आफू गाजामा रहेको र घर फर्कन आतुर रहेको बताएकी छन्।

उनका परिवारले पनि भिडिओ हेरेका छन्।

‘म यति मात्र भन्छु कि जति हुन्छ छिटो म परिवार, आमाबुवा र भाइबहिनी भेट्न चाहन्छु। प्लिज, जति सकिन्छ चाँडो हामीलाई यहाँबाट निकाल्नुहोस।’

अघिल्लो शनिबार जमिन, आकाश र समुद्रबाट इजरायलमाथि अचानक आक्रमण गरेका हमासका लडाकुले झन्डै २ सय मानिसलाई बन्धक बनाएर लगेको अनुमान छ।

यसैबीच हमासको सैन्य विङले बन्धक बनाइएका गैरइजरायली नागरिक आफ्ना लागि पाहुनाजस्ता भएको बताएको छ।

समाचार संस्था रोयटर्सले ती विदेशी नागरिकहरूलाई परिस्थिति मिलेपछि रिहा गरिने पनि सैन्य विङले उल्लेख गरेको छ।