लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं । विश्वकप फुटबलको छनोटअन्तर्गत पहिलो चरणको अवे खेलमा नेपालले लाओसविरुद्ध १-० गोलको जीत निकाल्दै दोस्रो चरणमा पुगेको छ ।

लाओसको राजधानीमा भएको खेलमा नेपालको लागि मनिष डाँगीले दोस्रो हाफको ५३औं मिनेटमा गरेको एकमात्रै गोल निर्णायक बन्यो । मनिषले अञ्जन विष्टको असिस्टमा गोल गरेका थिए ।

यसअघि नेपालको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अवे मैदानमा हुने खेलमा नेपाल जित्नैपर्ने दबाबमा थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा लाओसले हालसम्म नेपाललाई हराउन सकेको छैन । तर, गत साता दशरथ रंगशालामा भएको खेलमा लाओसले स्तरीय प्रदर्शन गर्दै सुरुवाती अग्रता लिएको थियो । अञ्जन विष्टले नेपालका लागि बराबरी गोल गरेका थिए ।

विश्वकप छनोटमा नेपाल यसअघि सन् २०१४ र २०२२ मा दोस्रो चरणसम्म पुगेको थियो । नेपालले गत वर्ष आयोजित विश्वकपका लागि भएको छनोटमा दोस्रो चरणमा पुगेर अस्ट्रेलिया, जोर्डन, कुवेत जस्ता टोलीसँग खेल्ने अवसर पाएको थियो ।