काठमाडौं–सांघाई उडान सुरु : हिमालय एयरलाइन्स


काठमाडौं । हिमालय एयरलाइन्सको काठमाडौं–सांघाई उडान सुरु भएको छ । हिमालय एयरलाइन्सले शनिबार काठमाडौंबाट चीनको आर्थिक हब सांघाईमा आफ्नो उद्घाटन उडान सुरु गरेको हो ।

एच ९७८० उडान १४१ यात्रु लिएर बिहान उडेको थियो भने एच ९७८१ उडान साँझ ९५ यात्रु लिएर काठमाडौं फर्कने कार्यक्रम रहेको छ । एयरलाइन्सले हरेक शनिबार ए ३२० बिमानमा काठमाडौंदेखि सांघाईसम्म राउण्ड ट्रिप सञ्चालन गर्दै आएको छ । साथै डिसेम्बर २० देखि २७ जनवरी २०२४ सम्म हप्तामा दुईवटा उडान तालिका रहेको जनाइएको छ ।

सन् २०१४ को अगस्टमा नेपाल–चीन संयुक्त लगानीमा स्थापना भएको काठमाडौंस्थित अपरेटरले जुनमा काठमाडौं र बेइजिङबीचको सिँधा उडान पुनः सुरु गरेको हो । सेप्टेम्बरमा काठमाडौंबाट पूर्वी चीनको तटीय शहर छिङदाओमा सिधा उडान सुरु गरेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालस्थित चिनियाँ दुतावासका काउन्सिलर सि युले नयाँ उडानले पूर्वी चीनबाट धेरै पर्यटक नेपाल आउने विश्वास व्यक्त गर्नुभयो । नयाँ रुटले नेपाल र चीनबीचको पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ । पर्यटन क्षेत्र नेपालका लागि प्रमुख विदेशी मुद्रा आर्जन गर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्र हो । सिन्ह्वारन्यूज एजेन्सी नेपाल