प्रधानमन्त्री प्रचण्ड : हवाई सुरक्षालाई व्यवस्थित बनाएर कालोसूचीबाट हटाउने प्रयासमा छौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभयो ।

बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्रीले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताउनुभयो ।

यस पटक हवाई सुरक्षामा केही सुधार भएको तर हाम्रो सुधार पर्याप्त भएन । थप सुधारका निम्ति काम गर्नुपर्ने परिस्थिति देखिएको प्रधानमन्त्रीले बताउनुभयो ।