उच्च अदालत पाटनमा पूर्वगृहमन्त्री खाणको निवेदनमाथि सुनुवाइ जारी

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिनुभएको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी रहेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ ।
यसअघि मङ्सिर १५ गते अरुका हकमा राय मिलेको भए पनि खाणको हकमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा सुनुवाइ हुन लागेको हो ।

पूर्व गृहमन्त्री खाणका विषयमा न्यायाधीशद्वयकोे राय बाझिएको थियो । न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश गर्न र अर्का न्यायाधीश खरेल थुनामै राख्न आदेश भएको थियो । यसैले खाणको विषय तेस्रो न्यायाधीशसमक्ष पेस भएको हो ।

आज सुनुवाइ गर्नुहुने न्यायाधीशले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुनेछ । तर यी न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ ।

भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित केहीलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।