वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कामप्रति असन्तुष्टि

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कार्यक्षमतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले असन्तुष्टि जनाएका छन् ।

चालु आर्थिक वर्षका लागि निर्धारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापरबाही गरेको र जिम्मेवारपूर्ण तरिकाले तोकिएको काम सम्पादन नगरेको पाइएको भन्दै मन्त्री बस्नेतले केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज ढकाललाई स्पष्ट विवरण पेस गर्न निर्देशन पनि दिएका छन्।

मङ्गलबार मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री बस्नेतले कार्यक्षमता सुधार गर्नसमेत निर्देशन दिनुभएको हो । आफैँले कार्यान्वयन गर्छु भनेर वार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका अधिकांश योजना कार्यान्वयनमा जान नसकेको पाइएको भन्दै मन्त्री बस्नेतले त्यसका कारण र उपायहरू पेस गर्न निर्देशन दिएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आव सकिन चार महिना बाँकी हुँदासम्म तोकिएका काम प्रक्रियामा रहेको, माग सङ्कलन गरिरहेको भन्ने जस्ता विवरण पेस गर्ने केन्द्रको तरिका ठिक नभएको बताए ।

मन्त्री बस्नेतले भन्नुभयो, “तोकिएका अधिकांश माइलस्टोनको प्रगति १० प्रतिशतभन्दा कम छन् । यो तरिका ठिक भएन । किन त्यसो भएको हो चित्तबुझ्दो जवाफ दिनुहोला ।” वैकल्पिक ऊर्जा, सौर्य ऊर्जासँग जोडिएका अधिकांश परियोजनाको प्रगति असाध्यै न्यून रहेको उनको भनाइ छ ।

केन्द्रको प्रगति विवरण अनुसार साना जलविद्युत् आयोजनाको मर्मतसम्भार, सौर्य परियोजना तथा केन्द्रको कार्यक्षेत्रभित्र पर्ने अधिकांश परियोजनाको प्रगति न्यून छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले पनि केन्द्रको कार्यशैलीप्रति आपत्ति प्रकट गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा वैकल्पिक ऊर्जामार्फत उज्यालो पु¥याउने लक्ष्य राखिएको छ ।

केन्द्रका अधिकांश गतिविधि गैरसरकारी संस्था केन्द्रित भएको आरोप लाग्दै आएको छ ।