संक्रमणकालीन न्यायका बाँकी काम छिट्टै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्‍क्रमणकालीन न्यायका बाँकी काम छिटो सम्पन्‍न गर्न सरकार दृढ रहेको बताएका छन् । मंगलवार गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखलेमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले संविधानले परिलक्षित गरेबमोजिम द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्‍न गरेको उल्लेख गरे। उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन सरकार दृढ रहेको समेत बताए ।

दाहालले सशस्‍त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्‍गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनःस्थापना र परिपूरणको व्यवस्था मिलाइएको बताएका छन् । संविधानबमोजिम तीनै तहमा निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्‍न निर्वाचनले मुलुकमा सङ्‍घीय शासन प्रणालीलाई सुदृढ बनाएको उनको दावी थियो ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन, सङ्‍घीयता सबलीकरण, अर्थतन्त्र सुधार र पुनरुत्थान, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवाप्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री शासनको स्थापना तथा भ्रष्‍टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेको बताउँदै सुशासनलाई संस्थागत गर्न, विकास निर्माणलाई गति दिन र सेवा प्रवाहमा जनताले अनुभुति गर्नसक्ने गरी सुधारका लागि सरकार स्पष्‍ट मार्गचित्रका साथ अघि बढेको धारणा राखे ।