नेपालको पर्यटन प्रवद्र्धन तथा बीटुबी दक्षिण कोरियाको ग्वाङ्जुमा सम्पन्न

काठमाडौं । नेपाल पर्यटन बोर्डले सियोलस्थित नेपाली राजदूतावास र कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा दक्षिण कोरियाको ग्वाङ्जुमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । असार ११ गते दक्षिण कोरियाको ग्वाङ्जुमा बीटुबी बैठकसहित आयोजना गरेको कार्यक्रममा बोल्दै सियोलस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर पुष्पराज भट्टराईले नेपाली र कोरियाली टुर अपरेटरहरूको समूहले सामूहिक रूपमा आयोजना गरेका कार्यक्रमले दुवै देशबीचको पर्यटन प्रवद्र्धन हुने धारणा राखेका थिए ।

नेपाल र कोरिया गणतन्त्र कोरियाबीचको नेपाल(कोरिया कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि कोरियाली र नेपाली अपरेटर दुवै मिलेर काम गर्न आग्रह गरे । उनले नेपाल र कोरियाबीचको द्विपक्षीय पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकारको तर्फबाट पूणर् सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै नेपाल र कारिया बीच छिट्टै नियमित उडान हुनेमा आफु आशाबादी रहेको जानकारी दिए ।

त्यसैगरी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, वरिष्ठ निर्देशक हिक्मतसिंह ऐयरले नेपाल दूतावास र कोटानसँगको साझेदारीमा बोर्डले लामो समयपछि नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरेको जानकारी दिँदै यस प्रकारका कार्यक्रमले दुई देशलाई पर्यटन प्रवद्र्धनको सम्भावनालाई उजागर गर्न फराकिलो मञ्च प्रदान गर्ने बताउनु भयो । सो अवसरमा उहाँले ‘डेस्टिनेसन नेपाल’ र ‘नेपालको पर्यटन क्षेत्रमा लगानीका अवसर’ विषयका दुईवटा प्रस्तुति दिएका थिए ।

ग्वाङ्जुस्थित नेपालका अवैतनिक वाणिज्य दूतावास श्री जेओन, सुङ ह्युनले कोरियामा यस्ता कार्यक्रम आयोजना गरेकोमा नेपाली प्रतिनिधिमण्डलप्रति हार्दिक आभार प्रकट गर्दै नेपालको अनुपम संस्कृति, एड्रेनालाईन रश साहसिक र प्राचीन प्राकृतिक सौन्दर्यप्रतिको आफ्नो लगाव रहेका बताउए। उक्त कार्यक्रममा कोटानले लक्की ड्र मार्फत आमन्त्रित तीन कोरियाली टुर अपरेटरहरूलाई नेपाल भ्रमणका लागि टुर प्याकेजहरू समेत पुरस्कारका रुपमा प्रदान गरेको थियो।