लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिए । । ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले लागुऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले सुरक्षा निकायका लागि पर्याप्त बजेट तथा जनशक्तिको व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए । गलत बाटोमा हिँडेर सही गन्तव्यमा पुग्न नसकिने बताउँदै उनले लागुऔषध दुव्र्यसनबाट बाहिर निस्केर समाज सुधारकको भूमिका निर्वाह गर्न आग्रह गरे ।

लागुऔषध दुव्र्यसन नियन्त्रणमा सरकार, समुदाय र आम नागरिकको उत्तिकै भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले दुव्र्यसनीमा फसेकालाई सुध्रन मौका दिइने तथा बिक्री वितरणमा संलग्नलाई कडाकारबाही हुने स्पष्ट पारे । उनले लागुऔषध दुव्र्यसनलाई अन्त्य गर्न सरकारले विभिन्न अभियान सञ्चालन गरेको भए पनि दुव्र्यसनीको सङ्ख्या बढ्दै जानुमा कहीँ न कहीँ कमजोरी भएको महसुस गरिएको बताए ।

“नेपालका युवालाई लागुऔषधको दुष्चक्रबाट बाहिर निकाल्न नेपाल सरकार सक्षम रहेको छ”, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्री प्रदीप यादवले भने, “सरकारको भूमिकालाई वेवास्ता गरेर गैरसरकारी संस्था अघि बढ्न मिल्दैन, गैससले सरकारसँग समन्वय गर्नुपर्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भावनात्मक रिक्तताको अवस्था परिपूर्ति गर्न युवा विद्यार्थी लागुऔषधको शरणमा पुग्ने गरेकातर्फ आमअभिभावक र साथीसङ्गी सचेत हुनुपर्ने बताइन । उनले लागुऔषधको दुव्र्यसनमा फसेका व्यक्तिलाई समाजमा पुनःस्थापित गराउन सिङ्गो राष्ट्र, समाज र परिवारको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले समाज, संस्कृति र परिवारबाट टाढिएका युवा दुव्र्यसनमा फस्ने गरेका उल्लेख गर्दै युवालाई समाजका विभिन्न पक्षसँग जोडिराख्नुपर्ने बताए । उनले लागुऔषधको अवैध ओसारपसार र सेवनविरुद्धको अभियानलाई राष्ट्रिय मुद्धा बनाई सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए।

‘प्रमाण स्पष्ट छः रोकथाममा लागनी गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज विश्वभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । नेपालमा विविध कार्यक्रमका साथ साताव्यापी रूपमा दिवस मनाइएको छ । यसवर्षको राष्ट्रिय नारा ‘लागुऔषध दुरुपयोगविरुद्ध लडौँः रोकथाममा जोड दिऔँ’ तय गरिएको छ ।

विश्वव्यापी रूपमा फैलिएको लागुऔषधको अवैध कारोबार तथा सेवनका कारण पर्ने व्यक्तिगत, पारिवारिक र सामाजिक असरबाट नेपाल पनि प्रभावित भएको छ । लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ मा नेपालमा करिब एक लाख ३० हजार चार सय २४ लागुऔषध प्रयोगकर्ता रहेका उल्लेख छ । यीमध्ये एक लाख २१ हजार छ सय ९२ पुरुष र आठ हजार सात सय ३२ महिला छन् ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार गत जेठ मसान्तसम्ममा लागुऔषध अपराधमा पाँच हजार तीन सय ३९ जना पक्राउ तथा तीन हजार पाँच सय एक वटा लागुऔषध मुद्दा दायर भएका छन् । सन् १९५४ देखि नै विश्व स्वास्थ्य सङ्गठनले लागुऔषध सेवन गर्ने कुलतलाई विश्वकै दोस्रो खतरनाक रोग मान्दै आएको छ ।