प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

काठमाडौँ । नयाँ समिकरणको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन लागेको नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौला बताएका छन् । प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गर्दै ६ गतेका लागि विश्वासको मत लिने समय तय गर्नुभएको प्रमुख सचेतक बर्तौलाले बताए ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। प्रधानमन्त्री ओलीले असार ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रधानमन्त्री ओलीले साउन ६ गते नै संसद् बैठकबाट देशवासीको नाममा सम्बोधन समेत गर्ने छन् ।