सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा गएको ६.१ म्याग्निच्युडको भूकम्पले सात जिल्लामा असर पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार सिन्धुपाल्चोक, भोजपुर, काठमाडौं, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङ जिल्लामा भूकम्पको प्रभाव देखिएको छ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका अनुसार भूकम्पका कारण ६ जना घाइते भएका छन्। काठमाडौँमा दुई जना, सिन्धुपाल्चोकमा एक जना कैदी घाइते भएका छन्।
भूकम्पका कारण एक घर पूर्ण रूपमा भत्किएको छ भने तीन घर र एक गोठ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। सिन्धुपाल्चोकको कोदारीस्थित एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको छ। सङ्खुवासभामा दुई घरमा क्षति पुगेको छ भने तीन परिवार विस्थापित भएका छन्।
प्रहरीका अनुसार अहिलेसम्म १३ वटा घटनाको विवरण प्राप्त भएको छ। भूकम्प देशका धेरै जिल्लामा महसुस गरिएको भए पनि थप क्षतिको विवरण आउन बाँकी रहेको छ।
Add Comment