कूटनीतिक वार्ताबाट नेपाल–भारत सीमा समाधान हुने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणामा परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न ठाउँमा स्पष्टिकरण दिईरहेका छन् ।
यसैक्रममा राष्ट्रियसभाको आजको बैठकमा मन्त्री खनालले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप ऐतिहासिक सन्धि–सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताबाट सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध जनाएका हुन् ।

उनका अनुसार सदियौँदेखि खुला सीमाका कारण कतिपय सीमा क्षेत्रमा दशगजा वरपर ‘क्रस होल्डिङ’ को अवस्था रहेको छ । आन्तरिक सहमतिअनुसार स्थानीयवासीले वरिपरि खेतीपाती गर्दै आएको अवस्थाबारे प्रधानमन्त्री शाहले उल्लेख गर्न खोजेको उनले स्पष्ट पारे ।
मन्त्री खनालले प्रधानमन्त्री शाहले सीमा सम्बन्धी जवाफका क्रममा नेपालको सिमाङ्कन सन् १८१६ को सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै मित्रराष्ट्र संयुक्त अधिराज्यको सन्दर्भ पनि उठाउनुभएको स्पष्ट गरे । “यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौँ,” मन्त्री खनालले भने “तर तत्कालीन अवस्थाका सन्दर्भ सामग्री उपलब्ध भएमा ती सीमा समस्या समाधानमा सहायक हुन सक्छन् भन्ने आशय प्रधानमन्त्री शाहको थियो ।