प्रचण्ड माधव समूहले गर्यो संसद बैठक बहिष्कार

काठमाडौं । राष्ट्रपतिले बोलाएको आजको संसद बैठक प्रचण्डमाधव नेपाल पक्षले बहिस्कार गरेको छ । संसद बैठक शुरु भएपछि भिम रावलले प्रधानमन्त्रीको वैधानिकताको प्रश्न उठाए ।

रावलले प्रधानमन्त्रीले वैधानिकता गुमाएकोले सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री ओलीले कुनै पनि सरकारी विधेयकहरु यो संसदमा ल्याउनु अवैधानिक रहेको जिकीर गरेका थिए । रावलले आफैंले हत्या गरेको संसदमा आएर प्रधानमन्त्रीले अध्यादेश पेश गर्न मिल्छ कि मिल्दैन भनी सभामुखलाई प्रश्न गरे ।

आजको कार्यसूचीमा संवैधानिक परिषदसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेकोमा त्यो कार्यक्रम रद्द गर्न पनि रावलले अपील गरे ।

सभामुखले विधेयक आजै प्रश्तुत गर्नुपर्ने बताएपछि भिम रावलले आफूहरुले संसद बैठक बहिष्कार गर्ने जानकारी दिए । त्यसपछि प्रचण्ड लगायतका नेताहरु संसदबाट बाहिरिए ।