विदेशी नागरिकको पिसिआर टेष्ट नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर भयावह रुपमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणको नेपालमा पनि बढ्दै गइरहेकोले अझ बढी जिम्मेवार भएर समाचार दिन पत्रकारहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना खेलाँची गर्ने भाइरस नभएको भन्दै सबैले जिम्मेवार भएर संक्रमण नियन्त्रणमा सघाउनुपर्ने बताएको छ । आज एक सूचना जारी गर्दै मन्त्रालयले सार्वजनिक व्यक्तित्व, धेरैले चिन्ने र अनुसरण गर्ने व्यक्तिहरुको भूमिका यस्तो जोखिमको स्थितमा थप जिम्मेवारपूर्ण हुनुपर्ने भनेको छ ।

सकेसम्म सार्वजनिक कार्यक्रम नगर्न, गर्नै परे थोरै मानिसहरुको उपस्थितिमा मात्रै आयोजना गर्न र त्यस्ता कार्यक्रममा मास्क नलगाइ उपस्थित नहुन पुनःस्मरण गराएको छ ।

मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर वा पीसीआर परीक्षण गर्न मात्रै नेपाल आउने विदेशी नागरिकहरुको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन पनि दिएको छ ।

मन्त्रालयले अहिलेको गम्भीर अवस्थामा भिडभाड हुने कार्यक्रमहरुलाई निरुत्साहित गर्न भन्दै मास्क नलगाइ भएका सार्वजनिक कार्यक्रमको समाचार प्रकाशन प्रशारण नगर्न समेत सञ्चारमाध्यमहरुलाई अपिल गरेको छ ।