कोरोनाबाट बच्न ७० जिल्लामा निषेधाज्ञा

काठमाण्डाैं । देशभर निषेधाज्ञा लागु गर्ने जिल्लाको सङ्ख्या ७० पुगेको छ । गृह मन्त्रालयले जनाए अनुसार ७० वटा जिल्लामध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागु भएको हाे । देशैभर काेराेनाले भयावहरूप लिएकाे विदितै छ ।

आजदेखि  रसुवा र पाँचथरमा पनि निषेधाज्ञा सुरु भएको छ । यसैबीच काठमाण्डौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

देशभर सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । यसअघि बैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक हप्ता र त्यसपछि थप कडाइ गर्दै पुनः अर्काे एक हप्ता थप गरिएको थियो । भोलि रातिदेखि निषेधाज्ञा आदेशको समय सकिन लागेकाले थप गर्ने तयारी गरिएको हो । पछिल्लो समय काठमाण्डौ उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा कोरोना सङ्क्रमित भेटिँदै आएका छन् ।