बेलायतमा फैलिँदै, कोरोनाको इन्डियन प्रजाती

काठमाडाैं ।  पछिल्लो समय भारतबाट तिब्र रुपमा फैलिएको कोरोनो भाइरसको नयाँ भेरिएन्टका कारण बेलायतमा पनि संक्रमित बढ्न थालेका छन् । कोरोना भाइरसको डबल म्युटेन्ट भेरिएन्टबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि लकडाउन खुकुलो पार्ने भनिएको बेलायत सरकारको योजना प्रभावित हुने बताइएको छ । आगामी सवमबारदेखि बेलायत सरकारले लकडाउन खुकुलो पार्ने तयारी गरिरहेकोमा इन्डियन भेरिएन्ट फैलन थालेपछि उक्त योजना प्रभावित हुने विज्ञहरुले बताए । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले समेत बुधबार संसदमा बी.१६१७.२ नामको डबल म्युटेन्ट भेरिएन्टका कारण चिन्ता बढिरहेको बताएका थिए ।

 

इन्डियन भेरिएन्ट फैलन थालेपछि आपतकालीन वैज्ञानिक परामर्श समूहको बैठक बिहीबार बस्दैछ । बेलायती मिडियाका अनुसार नयाँ भेरिएन्ट रोकथामका लागि सरकारले अर्को तयारी गर्नेसक्ने बुझिएको छ । नयाँ भेरिएन्टका कारण दुई हप्ताअघि मात्रै २०२ जना संक्रमित भएका थिए । उक्त संख्या एक सातामै ५२० पुगेको थियो । बेलायती भेरिएन्टको असर कम हुँदै गर्दा इन्डियन भेरिएन्टका कारण थप चिन्ता बढेको अधिकारीहरुको प्रतिक्रिया छ । बेलायत सरकारले मे १७ अर्थात् आगामी सोमबारदेखि अधिकांश क्षेत्रमा हिँडडुल गर्न पाइने साथै प्रतिबन्ध खुकुलो बनाउने निर्णय गरेको थियो । तर नयाँ भेरिएन्ट फैलिन थालेपछि लकडाउन कडा पार्न सकिने विज्ञहरुले बताएका छन् । इन्डियन भेरिएन्टको असर बेलायत वाहेक दक्षिण अफ्रिकामा समेत फैलिएको छ ।अन्नपूर्ण पाेष्टमा खबर छ ।