प्रधानमन्त्री पाए महन्थपक्षले विपक्षी गठबन्धनलाई सघाउने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगकाे भेटमा  जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले सरकारको नेतृत्व दिए विपक्षी गठबन्धनलाई सघाउने बताएकाे छ  । भेटमा जसपाका नेताहरूले आफूले गठबन्धनको नेतृत्व गर्न चाहेको कुरालाई स्पस्टसँग राखेको स्रोतले जनाएको छ । भेटका लागि महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेता कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ गएका थिए । बैठकमा जसपाका नेताहरूले आफ्नो नेतृत्वमा सरकार बनेको खण्डमा मात्र विपक्षीसँग सहमति गर्ने बटमलाइन राखेको बताइएको छ । त्यसो हुन नसकेमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने उनीहरूको भनाइ थियो ।

 

जसपाको प्रस्तावपछि नेपाली कांग्रेसले चार बजेका लागि पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ । बैठकमा सत्ता समीकरण र जसपाले राखेको प्रस्तावको विषयमा छलफल हुनेछ । कांग्रेसलाई आफ्नो प्रस्ताव राखेको जनता समाजवादी पार्टीको ठाकुर पक्षले पनि आफ्ना सांसदहरूको बैठक बोलाएको छ ।

 

यसअघि कांग्रेस र जसपाको सत्ता समीकरण मिलाउनका लागि दुई पक्षका नेताहरूबीच छलफल भएको थियो । कांग्रेसबाट एनपी साउद, बालकृष्ण खाँड, सुजाता कोइराला र जसपाबाट डा. सुरेन्द्र झा र राजेन्द्र महतो लगायतका नेताहरू सक्रिय भएर सत्ता समीकरणका लागि छलफलमा थिए ।