सरकार शव जलाउने दाउरा खोज्दै, मजदुर भोकै

काठमाडाै । लकडाउन भएपछि सबैभन्दा बढी मार मजदुरवर्गले भाेग्नुपरेकाे सर्वविदितै छ । मजदुरका मुद्दा सुनिदिने सरकार पदकाे भागवन्डामा रमाएकाे छ ।  दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक गर्दै आएको काम बन्द भएका कारण साँझ बिहान हातमुख जोड्नसमेत धौधौ परेको छ । पहिलो चरणको कोरोना सङ्क्रमणका बेला भएको बन्दाबन्दीको समयमा अधिकांश सङ्घसंस्थाले मजदुरी गरी खाने वर्गलाई खाद्यान्नलगायतका राहत वितरण गरेको भए पनि यसपटकको बन्दाबन्दीमा कसैले पनि राहत नदिएका कारण आफूहरुलाई हातमुख जोड्नसमेत मुस्किल पर्दै आएको मजदुरहरू बताउँछन् ।

एकातिर याे अवस्था छ भने सरकार विपक्षीलाई  तह लगाएकाे आत्मप्रशंशामा रमाएकाे छ । मजदुरी गरी खाने वर्गलाई स्थानीय सरकारले समेत राहतका लागि अहिलेसम्म पनि कुनै पहल नचालेकाले झनै समस्या भएको  छ । खाना नै खान नपाएपछि कोरोनाले मार्ला भन्ने डर पनि कमजाेर हुन जाने नै भयाे । काेराेना लागेर मरिएलाकि भन्दा पनि खान नपाएर मरिएला कि भन्ने पिरलाे छ मजदुर वर्गमा । सरकारकाे दाैडधुप पशुपतिमा शव जलाउन दाउरा खाेज्नेदेखि खाली अक्सिजनका भाँडा बटुल्ने, कालाेबजारीसँग अँगालाे हाल्ने, विपक्षीलाई तह लगाउने, पद र कुर्सीकाे पुरानै झगडामा रमाउने लगायतका काममा छ । यस्ताेमा भगवानले मजदुरलाई  खाना दिए मात्र हाे ।