नेपाली सेना अस्पतालदेखि मृत्यु शय्यासम्म

काठमाडाैं । नेपाली सेनाले कोरोनाका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्ने जिम्मेदारी सम्हालेको सर्वविदितै छ । सेनाले नेपालमा मृत्यु भएका संक्रमितको शव कुशलतापूर्वक व्यवस्थापन गरिरहेको पनि छ ।  सैनिक हवल्दार नेपालीको दैनिक अचेल मृतकका आफन्तलाई शव व्यवस्थापनका लागि चाहिने आवश्यक सामग्रीबारे जानकारी गराउनदेखि मृतकको विवरण भर्ने, अस्पतालबाट महाकाली नदीका घाटसम्म शव पु¥याउन व्यवस्थापन गर्ने रहेको छ । उनी यसलाई यसरी बुझ्छन् “शुरुमा त कोरोना महामारीका रूपमा फैलिँदै गर्दा अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलहालमा घुलमिल भएर काम गर्न डर पनि थियो ।”

उनले भने, “पछि बानी पर्दै गयो र स्वास्थ्य सुरक्षालाई पनि ख्याल गर्दै दिइएको जिम्मेवारी निडर भएर पूरा गर्दैछौँ ।” सेनातर्फ यहाँ कञ्चनपुर जिल्लाको श्रीदल गुल्मको जिम्मेवारी क्षेत्रमा पर्छ । सोहीअनुसार गुल्मले कोरोना कहरमा दिइएको जिम्मेवारीअनुसार यहाँको गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माणदेखि अन्य रणनीति बनाएर काम गरिरहेको छ । “कोरोना कहरमा सङ्क्रमणको सम्भावना त रहन्छ नै”, नेपालीले भने, “यहाँबाट अहिलेसम्म दैनिकजसो शवहरु व्यवस्थापनका लागि हाम्रै टोली घाटसम्म खट्दै आएको छ ।” उनले शववाहन जुटाउने तथा अस्पताल प्रशासनमार्फत स्वास्थ्य सामग्री मृतकका आफन्तलाई दिनेलगायतका काम सेनाले नै गरिरहेको बताए । अस्पतालदेखि घाटसम्म नेपाली सेना सक्रिय भएर काम गरिरहेकाे छ ।