चुरे दोहन नगरे पनि, चुरेकै नजिक पर्ने क्षेत्र दोहनको तयारी

काठमाडौं । ढुंगा, गिट्टी र बालुवा निकासीका लागि खानी सञ्चालन गर्न सरकारले १४ जिल्लाका ९२ स्थान पहिचान गरेको धेरै भइसकेको छ । खानी तथा भूगर्भ विभागले अर्घाखाँची, चितवन, डोटी, डडेलधुरा, धनकुटा, ललितपुर, मोरङ, मकवानपुर, पाल्पा, प्यूठान, सुर्खेत, सल्यान, सिन्धुली र उदयपुरका विभिन्न नगरपालिका र गाउँपालिकाभित्र पर्ने ९२ स्थान पहिचान गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले डाँडा काटेर ढुंगा, गिट्टी निकासी गर्ने र समथर जमिनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी प्रस्ताव गरेको सिद्धबाबा क्षेत्र । सरकारले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गर्ने योजना बजेटमार्फत ल्याएको छ । विभागले पहिचान गरेका चुरे, भावर, सिवालिक र नदी प्रणालीबाहेकका उपयुक्त क्षेत्रमा उत्खनन गर्ने अर्थ मन्त्रालयले नीतिगत दृष्टिकोणसमेत प्रस्तुत गरेको छ ।

तर, विभागले उत्खननका लागि पहिचान गरेका ९२ स्थानमध्ये धेरै स्थान चुरेभित्र र नजिक पर्ने भएकाले कालान्तरमा समस्या निम्तिन सक्ने भन्दै विशेषज्ञहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका पूर्वसदस्य तथा चुरेविज्ञ विजयकुमार सिंह दनुवारका अनुसार उत्खनन गर्न अध्ययन गरिएका ललितपुरबाहेक अन्य १३ वटै जिल्ला चुरेभित्र पर्छन् । कान्तिपुर दैनिकबाट ।