नीतिगत हिसाबले अर्थतन्त्रमा धेरै हदसम्म उपलब्धी हासिल भए : गभर्नर अधिकारी

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगत हिसाबले अर्थतन्त्रमा धेरै हदसम्म उपलब्धी हासिल भएको बताएका छन् । साथै उनले साना तथा घरेलु व्यवसायहरूको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले संसारभरी नै एमएसएमईज र एसएमइज संख्यात्मक हिसाबले झण्डै ९९ प्रतिशत रहेको देखिने गरेको भन्दै अर्थतन्त्रमा त्यसको योगदान अर्थपूर्ण हुने बताए । नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा यही अवस्थालाई ध्यानमा राखेर प्राथमिकता दिंदै आएको उनले बताए ।

सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत वा एक करोड भन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरि पुर्नरकर्जामध्ये पनि ७० प्रतिशत पुनकर्जा १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको उनको भनाई छ ।