राष्ट्रिय सभामा अध्यादेशका चाङ

काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन आजबाट शुरु हुने भएको छ। संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार आजको बैठकको शुरुमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले अधिवेशन आह्‍वान सम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

दिउँसो ४ बजेका लागि तोकिएको बैठकमा त्यसपछि अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरु विष्णुप्रसाद पौडेल लिलानाथ श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठबाट १२ वटा अध्यादेश पेश हुने कार्यसूची रहेको छ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशदेखि शपथसम्बन्धी अध्यादेश कार्यसूचीमा रहेका छन्।  

त्यसैगरी आजकै बैठकमा विभिन्न व्यक्तिहरुको निधनमा शोक प्रस्ताको कार्यसूचीसमेत रहेको छ।