होला कांग्रेस महाधिवेशन ?

काठमाडौं । कांग्रेसको महाधिवेशन हुनेमै शंका उत्पन्न भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशन ‘नहुने’ विषयमा छलफलले तीव्रता पाइरहेको नेताहरूले बताएका छन्। पार्टीको आगामी महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ। तर, महाधिवेशनको दिन नजिकिँदै जाँदा त्यसप्रतिको आशंका पनि बढ्न थालेको छ।

महाधिवेशन आउन अब ५३ दिन बाँकी छ। त्यतिञ्जेल महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ। तर, कार्यकर्तामा भने अन्योल बढ्दै गएको छ। मुख्यतः अधिवेशनको काम अघि बढाउन समयसीमा पाएका तल्ला समितिका प्रत्यासी र सरोकारवालामा पनि उत्साह बढ्न सकेको छैन।

केही दिनयता जिल्ला तहका दुई दर्जनभन्दा बढी नेतासँग सम्पर्क गरी महाधिवेशनको तयारीका सन्दर्भमा कुरा गर्दा अधिकांशको साझा प्रतिक्रिया थियो- ‘खै महाधिवेशन नै हुन्छ कि हुन्न!’ महाधिवेशन हुने सुनिश्चित भएपछि मात्रै उम्मेदवारको दाबी गर्ने कतिपयको भनाइ थियो। यस्तो प्रतिक्रिया दिनेमा निश्चित क्षेत्रका होइन, फरक प्रदेश र भूगोलका नेताहरू छन्। यसले कांग्रेस महाधिवेशन अन्योलमै छ ।