मिर्गौला बचाउँ अभियानमा महानगर, विरामीका लागि निःशुल्क हेमोडाइलाइसिस

काठमाडौँ । स्वस्थ मिर्गौला, स्वस्थ काठमाडौंको अभियानमा जुटेको काठमाडौं महानगरपालिकाले महानगरबासी मिर्गौलाका विरामीका लागि निकै नै चासो लिएर सेवा सञ्चालन गरिरहेको छ । विगतमा मिर्गौलाको स्वास्थ्य परिक्षण गर्दैआईरहेको महानगरले विरामीहरुका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सञ्चालन गरेको छ ।


काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा संयुक्त रुपमा सुरु गरेका हु । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु भएको हो ।
निःशुल्क हेमोडाइलाइसिस सेवा सञ्चालनको औपचारिक शुरुवात गर्दै काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम सुरु भइसकेको बताए । उनले ‘मिर्गौला बचाउ अभियान नामक संस्थासँग सहकार्य गरी महानगरपालिकाका ३२ वटै वडाहरूमा उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै नियमित स्वास्थ्य सेवाका अतिरिक्त महामारीका समयमा स्वास्थ्य सेवामा कमी हुन नदिन महानगर सरकारी र सामुदायिक अस्पतालको भौतिक संरचना, उपकरण र जनशक्ति व्यवस्थापनका लागि सहयोगको लागि हरपल तयार रहेको समेत बताए ।
प्रमुख शाक्यका अनुसार काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘तर, तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ ।’ यो सेवासँगै अस्पतालबाट महानगरवासीले हेमोडाइलाइसिसको सहज र स्तरीय सेवा प्राप्त गर्नेछन् आफू विश्वस्त रहेको समेत प्रमुख शाक्यको भनाई थियो ।
यस प्रकारको सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न महानगरले अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यससम्बन्धि सहकार्यका लागि महानगरपालिका र अस्पतालबिच वि. सं. ०७६ पुस २ गते सम्झौता गरेको थियो । सम्झौता ५ वर्षका लागि हो ।
त्यस अवसरमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, सहरी योजना आयोगका सदस्यहरु तथा जनस्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका अधिकारीहरु सहभागी थिए ।