टियूका परीक्षा भाैतिक उपस्थितिमै सञ्चालन

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षाहरू भाैतिकरूपमा नै सुरू भएको छ । कोरोना महामारी सुरु भएपछि त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू रोकिएका थिए । रोकिएका परीक्षा आज (आइतबार)देखि सुरु भएका हुन्।

स्नातक तहको पहिलो वर्षको वार्षीक परीक्षा आजदेखि सुरु भएको त्रिविले जनाएको छ । स्नातक तहको व्यवस्थापन तर्फको परीक्षा भोलिदेखि सुरु हुँदैछ। कोरोना महामारीका कारण रोकिएका परीक्षा एक वर्ष ढिलो गरेर सुर हुन थालेका हुन्।

कोरोनाका कारण धेरै विद्यार्थी भएका विषयमा परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक अनलाइन प्रणालीबाट परीक्षा फारम भरेको थियो। परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर नयाँ प्रविधिबाट परीक्षाका प्रक्रिया सञ्चालन गर्दा केही प्राविधिक कठिनाइ आएको जनाएको छ। 

परीक्षालाई सहज बनाउन पायक पर्ने केन्द्र छनोट गर्न समय तोकिएको तथा रजिष्ट्रेशन अनिवार्य गर्नुपर्ने व्यवस्थालाई फाराम भर्ने समयसम्म खुकुलो बनाइ इन्ट्री गर्न पाउने व्यवस्था बनाइएकाले केही परीक्षार्थीलाई समस्या परे पनि आवश्यक समन्वय गरी परीक्षामा समावेश गर्न कार्यालयले अनुरोध गरेको छ।

प्रवेशपत्रमा फोटो नआएको, परीक्षार्थीले परीक्षा दिनुपर्ने विषय प्रवेश पत्रमा प्रिन्ट गर्दा कम विषयहरु प्रिन्ट भएको भए या केन्द्र परिवर्तन भएको नदेखिएकोमा ट्रिप्लीकेट हेरेर परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित क्याम्पससँग समन्वय गरी परीक्षामा समावेश गर्न पनि केन्द्रले केन्द्राध्यक्षलाई आग्रह गरेको छ।