प्रधानमन्त्रीले चाहेमा स्वास्थ्यमन्त्री भएर काम गर्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीले चाहेमा आफू सरकारमा जाने र नचाहेमा संसदमै मात्रै बस्न तयार रहेको बताएका छन् ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वमन्त्री समेत रहेका थापाले कोरोना महामारीको जोखिम बढिरहेका बेला प्रधानमन्त्रीले चाहेमा स्वास्थ्यमन्त्री बनेर काम गर्न चाहेको आसय व्यक्त गरे ।

‘प्रधानमन्त्रीले संसदमै बस पनि ठिक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ । तर प्रधानमन्त्रीले फ्रि हाण्ड भएर काम गर्नुपर्छ ।’ सांसद थापाले भने ।

त्यसैगरी हाल गठबन्धनको सरकार रहेकाले आफूले नेतृत्वलाई दवाब दिने किसिमले सरकारमा सामेल हुन नचाहेको दाबी बताए ।

गठबन्धन सरकार रहेकाले माधव समूहको सरकारमा जाने नजाने भन्ने विषयमा टुंगो लागेपछि मन्त्रीमण्डलले पूर्णता पाउनेमा विश्वास व्यक्त गरे ।

महाधिवेशन केन्द्रीत पत्रकारहरुको जिज्ञासामा प्रतिक्रिया दिँदै कुनै पनि हालतमा महाधिवेशन रोक्न नहुने बताए ।
केहीदिन तलमाथि भएपनि तोकिएकै मितिमा महाधिवेशन गरिनुपर्ने नेता थापाको भनाइ रहेको छ । ‘सदस्यता विवाद देखाएर महाधिवेशन सार्न हुँदैन । केही दिन तलमाथि भए पनि सार्नुहुँदैन । तत्काल केन्द्रीय समिति बैठक राख्नुपर्छ, महाधिवेशन नभए कांग्रेसकै सामूहिक असफलता हुन्छ ।’ उनले भने ।

पूर्व स्वास्थ्यमन्त्री रहेका कारण कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यमन्त्रालयको जिम्मेवारी थापालाई दिन सबैलाई दवाब परिरहेको छ ।