जीवनभर माटोको घरमा गुजारा गरेका देवकोटालाई मरेपछि कंक्रिटे घर ?

काठमाडौं । महाकवि देवकोटाको घर आफैंमा एउटा संग्राहालय हो । तर, यसलाई भत्काएर कंक्रिटे संग्राहालय बनाउने भन्दै महाकवि देवकोटाको घर भत्काउने काम भइरहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको हो। विदेशमा हुँदो हो त यसैलाई मेन्टेन गरी जस्ताको तस्तै राख्ने काम गरिन्थ्यो ।

हाम्रोमा पुरानो चीजको महत्व खासै बुझिँदैन । पछिका दिनमा यसको महत्व टड्कारो भएर निस्कनेछ । विदेशमा हुन्थ्यो भने यही अवशेषलाई कसरी सिगार्ने, नभत्किने बनाउने बारेमा पैसा खर्च गरिन्थ्यो र जस्ताकाे तस्तै राखिन्थ्यो । जिन्दगीभरि माटोको इँटाकाे घरमा बसेका देवकाेटालाई अव कंक्रिटे घर किन चाहिएको छ र ?

उनका पुस्तकहरू राख्ने राम्रा दराजहरू र नकुहिने नबिग्रनेगरी राखे त भइहाल्थ्यो ।

काठमाडौँ महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो। संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ।

ऐतिहासिक यस घरलाई पुरानै संरचनामा ढाल्नुपर्छ भन्ने कुराको ज्ञान हामी नेपालीलाई कहिले आउला ?

महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिइन्।

उनले भनिन्, ‘एकेडेमीमा सबै बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ। सबै पढेलेखेको बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ। उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु। उहाँहरु जे गर्नुहुन्छ, राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ।’

महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो। देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ।