ओलीविनाको एमाले बनाउने हो : माधव समूह

काठमाडौं। नेकपा एमालेमा असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको राजधानीमा जारी केन्द्रीय समिति सदस्यहरूको बैठक समापन भएको छ। बैठकले १० बुँदे सहमतिले ‘एकताको आधार तयार पारेको’ निष्कर्ष निकालेको छ। अब त्यसकै आधारमा थप वार्ता र छलफललाई निरन्तरता लिँदै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने नेता रघुजी पन्तले जानकारी दिए।

बैठकले पारित गरेको निर्णय सुनाउँदै पन्तले भने, ‘अहिलेसम्म १० बुँदे सहमतिलगायतका सहमतिले एकताको आधार तयार गरेका छन्। १० बुँदे लगायतका सहमितहरुलाई कार्यान्वयन गर्दै थप आधारहरू तयार पार्न, वार्ता र छलफल निरन्तर भइरहेको छ। हामीले पार्टीलाई एकताबद्ध बनाउने दिशातर्फ सजगका साथ अघि बढ्न आवश्यक छ।’

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई माफी माग्न एक हप्ताको ‘अल्टिमेटम’ दिने तयारी गरेको छ। ओलीले पार्टीमा पुर्‍याएको क्षति, प्रतिनिधिसभा विघटन र हालसम्म गरेका गल्तीका लागि माफी माग्न समय दिने तयारी गरिएको नेपाल पक्षका नेता मेटमणि चौधरीले जानकारी दिए।

चौधरीले केन्द्रीय कमिटीको बैठकमा सरकारमा जाने र पार्टी एकताको प्रयास जारी राख्ने बारेमा छलफल भएको बताए। तर, ओलीको नेतृत्वमा एकता हुन नसक्ने धेरैको मत रहेको उनले बताए। नेता नेपालले साउन २४ गते सम्म एकताको काम सक्न वार्ता टोलीका नेतालाई निर्देशन दिएको उनले बताए।

‘केपी शर्मा ओलीलाई अध्यक्ष मानेर जान सकिँदैन भनेर धेरैले भन्नुभएको छ। वार्ता टोलीलाई २४ गतेसम्म काम सक्न भनिएको छ,’ उनले भने। यस्तै, माधव समूहका नेता विरोध खतिवडाले पनि ओली मुक्त एमाले बनाउने गरी छलफल भइरहेको बताए।

‘ओलीलाई स्वीकारेर जाने हो भने हामी हिजोको एमाले बनाउन सक्दैनौ। ओलीले गल्ती स्वीकारेर अध्यक्ष छोडे हामी पार्टी चलाउँछौ। नभए ओली भुरे टाकुर भएर बस्छन्। हामी एमालेलाई अगाडी लिएर जान्छौं,’ खतिवडाले भने। केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बिहीबार र शुक्रवार पार्टी एकता विवादबारे आआफ्नो धारणा राखेका थिए। सदस्यहरुले बोल्ने क्रम सकिएपछि हाल नेता नेपाल सहित शीर्ष नेता छुट्टै छलफलमा जुटेका छन्।