माओवादी केन्द्र भन्छ, सांसद अपहरण अपराध हो

काठमाडौं। नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई दाङबाट अपहरण गरी मुख्यमन्त्री निवासमा बन्धक बनाएको भनेर दिएको अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकले सांसद वलीलाई अपहरण गरिएको भन्ने घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथि प्रहार भएको निष्कर्ष निकालेको हो।

बैठकले भनेको छ, ‘यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो। हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं घोर निन्दा गर्दछ।’ राजनीतिको यो हदको भ्रष्टीकरण, स्खलन र अपराधीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि सबैलाई अपील गरेको नेता नारायणकाजी श्रेष्ठले बताए।

साविकको नेकपाबाट निर्वाचित खत्रीले १९ वैशाखमा माओवादी केन्द्र रोज्ने निर्णय गरेकी थिइन्। तर १५ साउनमा आफूलाई जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ल्याएर बन्धक बनाएको, एमालेमा फर्किएको भनेर वक्तव्य जारी गर्न लगाएको र २० गते आफू त्यहाँबाट भाग्न सफल भएको भन्दै वलीले बिहीबार पत्रकार सम्मेलन गरेकी थिइन्। एमाले र प्रदेश सरकारले भने त्यसको खण्डन गरेको छ।