रसुवामा पहिरोले पुरिएकाको खोजी कार्य जारी

काठमाडौं । पहिरोले घर पुरिँदा रसुवामा एकै परिवारका चार जना बेपत्ता भएकाको खोजी कार्य जारी छ । जिल्लाको नौकुण्ड गाउँपालिका ५ कोलडाडामा पहिरोले  घर पुरिँदा चार जना बेपत्ता हुनुका साथै एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय श्यामबहादुर गलान तामाङको घर पुरिँदा तामाङ घाइते भएका छन् ।  तामाङकी श्रीमती, दुई छोरी र एक छोरा घरभित्र सुतेको हुँदा  सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।

घाइते अवस्थामा भेट्टिएका गलान उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ। सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिण दूरी पर ठूलोभोर्ले र धुसेनी गाउँको बीच भागमा उक्त घटना भएको हो। 

बेपत्ता रहेकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको तथा घटनाको विवरण आउन बाँकी छ।