आज कोभिड १९ विरुद्धको भेरोसेल भ्याक्सिन विद्यार्थीलाई लगाईने

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आजदेखि कक्षा ११ र १२ सँगै परीक्षाका लागि प्रवेश पत्र लिएका विश्व विद्यालयका विद्यार्थीलाई खोप दिइँदै छ ।

स्वास्थ्य कार्यालय काठमाण्डौका अनुसार १८ वर्षमाथिका प्लस टु अध्ययनरत विद्यार्थी र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने छन् । यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि खोप दिइने छ । तोकेको खोप केन्द्रमा आजदेखि पर्सि आइतवारसम्म खोप लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ ।

सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेशन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क तथा निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिने छ ।

यस्तै, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, थापाथली, शिक्षण अस्पताल, महाराजगञ्ज र काठमाडौ महानगरपालिकाका ३२ वटा वडा तथा आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ ।

विद्यार्थीलाई खोप दिएपछि मात्रै कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ ।