अस्पतालको शौचालयमा एक पुरुष मृत अवस्थामा फेला परेपछि खैलाबैला

कोशी । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा ६१ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार मंगलबार दिउँसो करिब सवा १ बजे ओपीडी भवनको शौचालयमा होमराज पोखरेलको शव फेला परेको हो।

सुनसरीस्थित इनरुवा – ६ का स्थानीय पोखरेल स्वास्थ्य परीक्षणका क्रममा कोशी अस्पताल आएको उनको भनाइ छ। उनका अनुसार मृतक पोखरेलका साथबाट इनरुवा अस्पतालको ओपीडी पूर्जा फेला परेको छ। जसमा पिसाब सम्बन्धी परीक्षणका लागि विराटनगरस्थित अस्पताल रेफर गरिएको डा. दासले जानकारी दिए। डा. दासले मृतकका परिवारसँग सम्पर्क भएको र परिवारका सदस्य बुधबार शव बुझ्न आउने जानकारी आएको बताए।

घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले मृतकको साथबाट मधुमेह रोगको औषधि पनि फेला परेको जानकारी दिए।

घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रवक्ता श्रेष्ठले बताए। शवलाई पोस्टमार्टम गृहमा राखिएको प्रहरीले जनाएको छ।