म क्रियाशिल सदस्य हो कि होइन मलाई नै थाहा छैन : जगदीश नरसिंह केसी

काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश नरसिंह केसीले आफू कांग्रेसको क्रियाशिल सदस्य हो कि होइन भन्ने नै अझै थाहा पाउन नसकेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा केसीले यस्तो बताएका हुन् । 

साथै उनले आफूहरू महाधिवेशनको विरोधी नभएको बताएका छन्। उनले भने,‘हामीले महाधिवेशन भाँड्न खोजेको होइन । हामीले सभापतिहरूले पटक-पटक मिटिङ गर्ने काम गर्‍यौँ । नेताहरूलाई विशेष महाधिवेशन गरौँ भन्यौँ, अर्ली महाधिवेशन गर्ने हो भने पनि गरौँ भन्यौँ, पछि टाईम्ली महाधिवेशन गरौँ भन्यौं ।

हामीले विगत तीन वर्षदेखि यो कुरा भन्दै आयौँ, सुझाव दिँदै आयौँ । तर, नेतृत्वले हाम्रो कुरा सुनुवाइ गरेन । अहिले हामी धर्नामा छौँ । हाम्रो विचार ८ लाख ५० हजार क्रियाशील सदस्यहरूको विचार हो । धर्नामा बस्दा पनि पार्टीले हाम्रो मागको सुनुवाइ गरेन । हिजोदेखि हामी निरन्तर धर्नामा छौँ ।’

उनले पार्टीले तत्काल क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने बताए । उनले भने,‘नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतदाताको नामावली सार्वजनिक हुनुपर्छ, आजसम्म मतदाता को हो भन्ने कुरा थाहा छैन । मेरो नाम छ कि छैन ? मलाई थाहा छैन ।

क्रियाशील सदस्यता सार्वजनिकीकरण गरिदिनुहोस् भन्यौँ । जिल्लाबाट विधिसम्मत रूपमा क्रियाशील टुङ्गो लगाएर पठाएको विषयमा पनि केन्द्रबाट प्रविधिको दुरुपयोग गरेर नाम हालिएको छ भन्ने कुरा आएको छ, यदि हो भने त्यो सच्याउनुपर्छ ।’

त्यस्तै, त्यसरी नाम सच्याउँदा दाबी-विरोध गर्ने र सच्याउने मौका दिनुपर्ने पनि आफूहरूको अर्को माग रहेको केसीको भनाई छ । उनले आफूहरूले अघि सारेका तीन बुँदे माग आम नेपाली काँग्रेस पक्षधरको आवाज भएको बताए । उनले भने,‘हामी अहिले रिले अनशनमा बसेका छौँ । यो कुरालाई कसले उचित र कसले अनुचित भने भन्ने कुरा ठुलो होइन, हामी अधिवेशन भाँड्ने होइन ।

निर्धारित मितिमा पार्टीको महाधिवेशन भएन । काँग्रेसको वैधानिकता बचाउने कुरा सभापतिले हो । उहाँलाई जिम्मा दिएका छौँ । नेतृत्वले कलङ्क व्यहोर्नुपर्छ । अहिले अधिवेशन गर्न नचाहने भनेको अहिलेको नेतृत्व नै हो । हामीले पटक-पटक अधिवेशन र विशेष अधिवेशन गर्न माग गर्दा उहाँले चाहनुभएन । आजसम्म क्रियाशील सदस्य को हो ? भन्ने कुरा थाहा छैन ।’

उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकको समितिले बुझाएको क्रियाशीलको प्रतिवेदनमा सैद्धान्तिक र नीतिगत रूपमा मात्रै सहमति गरेकोले व्यवहारिक रूपमा समाधान हुनुपर्ने धारणा राखे । उनले भने,‘यो पार्टी कसैको पेवा होइन ।’