काबुल हमलाकारीलाई सजाय हुन्छ : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा ९० जना भन्दा धेरैको ज्यान जाने गरी बम हमला गर्नेहरुलाई माफ नगर्ने र उनीहरुलाई खोजेरै छाड्ने वाचा गरेका छन्।

अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ दुईवटा बम हमला भएका थिए । उक्त हमलामा परी हालसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ९० भन्दा बढीको ज्यान गएको छ।

‘हामी माफ गर्ने छैनौँ । हामीले बिर्सने छैनौँ। हामी तिमीहरुलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ’, बाइडेनले भनेका छन्। बम हमलामा ठूलो मानवीय क्षति भए पनि अमेरिकाले गरिरहेको हवाई उद्धार कार्य जारी नै रहने पनि राष्ट्रपति बाइडनले बताएका छन्। ‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ’, उनले भने।

बाइडनले मिसन सम्पन्न गर्ने वाचा गर्दै अगाडि भने, ‘हामी आतंकवादीहरुसँग डराउने छैनौँ।’

अफगानिस्तान छाड्ने अमेरिकी सैनिकहरुको अगस्टभरिको म्याद सकिँदै गर्दा तीव्र गतिमा चलिरहेको बहिर्गमन प्रक्रियालाई प्रभावित पार्ने गरी यी दुई विस्फोटहरु भएका हुन्। बिहीबारको विस्फोटमा ज्यान गुमाउनेमा बालबालिकाहरु पनि छन्।

आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका थिए।