कांग्रेसकी भाउजु आरजु गौरा मनाउन धनगढीमा

धनगढी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा मनाउन कांग्रेसकी भाउजु डा आरजु राणा देउवा धनगढीतर्फ लागेकी छन् । आइतबार तेस्रो अर्थात मुख्य दिन, ब्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् ।

उनी गत निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ५, धनगढी उपमहानगरपालिकासहितको क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव लडेकी थिइन्। उनले धनगढीमै घर किनेपछि तीन वर्ष यता गौरापर्व यहिँ मनाउँदै आएकी छन्।

आइतबार दिउँसो धनगढी पुगे लगत्तै आरजुले धनगढीस्थित निवासमा गौरा भित्र्याउने कार्यक्रम छ। ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष रुपमा लिने गरेका छन्।

ब्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गर्छन्। साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ। अमुक्ताभरण सप्तमीका रुपमा रहेको आजको दिन व्रतालु महिलाहरु एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने प्रचलन रहेको पण्डित यज्ञराज पनेरुले बताए।

उनका अनुसार गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर ब्रतालु महिलाहरुले फलफुल र विरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् ।
ब्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुवधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ।

यसका साथै साँझको समयमा व्रतालु महिलाहरुले कुण्ड स्नान गर्दछन्। आज गौरादेवीमा चढाएको दुवधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन्।

आज गौरा र महेश्वरको पूजा गरेर ब्रतालुहरुले राति मिठोमसिनो खाना खाने चलन छ। दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन छ।

तर यो वर्ष कोरोना कहरका कारण गौराको रौनकता नभएको स्थानीय बासिन्दाले बताएका छन्।