एनआरएनए अमेरिकाले दियो नेपाललाई सवा ३ करोड बराबरका स्वास्थ्य सामग्री

काठमाडाैं । एनआरएनए अमेरिकाले अक्सिजन कन्सनटेटर  ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रान्सफरमर २६ थान, ठुलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, ठुलो परिमाणमा स्वाव टेस्टटर, सी प्याप उपकरण १५ बक्ससहित पाँच प्यालेटमा ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन सामग्री नेपाल पठाएको जनाएको छ ।

स्वास्थ्य उपकरण र सामग्री अगष्ट ३१ तारिख नेपाल पुग्नेछ । नेपाल र नेपालीलाई कोभिड महामारी विरुद्धको अभियानमा सहयोग स्वरूप पठाइएका स्वास्थ्य उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी काठमाडौँ पुगेका छन् ।

अध्यक्ष सुवेदीले गैरआवासी नेपाली सङ्घ अमेरिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सबै सामान हस्तान्तरण गर्ने बताएका छन् । हस्तान्तरण कार्यक्रममा परराष्ट्र मन्त्रालय, नेपाली सेना, अमेरिकी राजदूतावास, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआइडीका प्रतिनिधि पनि सहभागी हुने कार्यक्रम छ ।

नेपालमा सामग्री पठाउने वातावरण बनाउन एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी र कोषाध्यक्ष राजीव श्रेष्ठले सेक्रेटरी अफ डिफेन्ससँग सम्बन्ध विकास गरी पत्राचार गरेका थिए ।

सेक्रेटरी अफ डिफेन्सका तर्फबाट युटाह नेशनल गार्ड स्टेट पार्टनरसिप कार्यक्रमका निर्देशक मेजर जनरल वीलियम के बेइसिन्जरले काम गरेका थिए । एनआरएनए अमेरिकाको सबै पक्षबाट अनुसन्धान गरेपछि सेक्रेटरी डिफेन्सले नेपाल र नेपालीलाई आपतविपत र महामारीमा सहयोग गर्ने गरी सहमति भएको थियो ।

सहमति अनुसार अमेरिकी सेनाको विमानले स्वास्थ्य सामग्री ढुवानी गरिदिनेछ । एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी यसलाई महत्त्वपूर्ण सफलता मान्छन् । सुवेदीले भने,“अव एनआरएनए अमेरिकाले आपतविपत र महामारीमा अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगतको सहयोग कार्यक्रमबाट निःशुल्क सहयोग सामाग्री नेपाल पठाउन सक्नेछ ।”

अमेरिकाबाट नेपालसम्मको ढुवानी खर्च निक्कै महँगो भएका कारण यो सहमतिलाई महत्त्वपूर्ण मानिएको हो । सेक्रेटरी डिफेन्सको यो सहयोगलाई अमेरिकामा रहेका नेपाली सङ्घ संस्था र प्रतिष्ठित व्यक्तिहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् ।