७० वर्षको मापदण्ड पास गर्ने मुख्य नेता मै हुँ : झलनाथ खनाल

काठमाडौं । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार आफूलाई नरहेको बताएका छन् । पार्टीले दिने कुनै पनि जिम्मेवारी निभाउन आफू तयार रहेको उनको भनाइ छ ।

भारतमा उपचारपछि फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले यस्तो भनाइ राखेका हुन् । उनले पार्टीमा ७० वर्षको मापदण्ड आफूले पालना गर्ने र अरुलाई पनि पालना गर्न आग्रह गरे ।

खनालले भने, ‘म उमेरले ७० वर्ष कटिसकेँ । मैले पार्टीमा कार्यकारी जिम्मेवारीको आशा लिएको छैन । पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि ठाउँ राखेको छु । तर, मेरो आफ्नो ठाउँबाट भने कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार मलाई छैन ।’

उनले थपे, ‘(एमालेको) नवौं राष्ट्रिय महाधिवेशनमा जुन विधान निर्माण गरियो, त्यसमा सर्वसम्मतिले एउटा मापदण्ड पास गरेका थियौं । त्यो ७० वर्षको मापदण्ड पास गर्ने मुख्य नेता मै हुँ । त्यसमा हामी दृढतापूर्वक अडिनुपर्छ । अन्य नेताहरुलाई पनि त्यो मापदण्डलाई ध्यानमा राख्न आग्रह गर्छु ।’