अधिकांश खाद्यान्नको मूल्यवृद्धि

काठमाडाैं । कोरोना महामारी यता उपभोक्ता बजारमा अधिकांश खाद्यान्नको मूल्यमा वृद्धि भएको छ । खुद्रा व्यवसायी संघको तथ्यांक अनुसार मुंग दाल १३० रुपैयाँबाट १६५ रुपैयाँ, मासको दालको मूल्य १३० रुपैयाँबाट १६० रुपैयाँ प्रतिकेजी र मुसुरो तथा रहरको दालमा क्रमशः ४० र ६० रुपैयाँले मूल्य बढेको देखिएको छ ।

पछिल्लो समय अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यमा चर्काे वृद्धि भएको तर सरकाले नियन्त्रण गर्न नसकेको उपभोक्तावादी अधिकारकर्मीहरुले जनाएका छन् । अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारको बेवास्ताका कारण नै अहिले बजारमा प्रायःजसो उपभोग्य वस्तुहरुको मूल्य बढेको बताए ।

‘कच्चा पदार्थको मूल्य नबढेका बेला यहाँ मूल्य बढ्नु सरकारको कमजोरीका कारण हो । ’ उनले भने । सरकारले बजार अनुगमन प्रभावकारी नहुँदा दैनिक उपभोग्य मूल्यमा चलखेल भइरहेको अध्यक्ष तिमल्सिनाको भनाई छ । ‘ यो व्यवसायीहरुको चलखेल हो । सरकारले कारवाही गर्नुपर्छ । ’ उनले भने ।