रामचन्द्र पौडेल भन्छन्, कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्छ

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशनले लोकतन्त्रप्रति निष्ठावान नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । 

आफ्नो फेसबुक पेजमा एक भिडियो सन्देश राख्दै नेता पौडेलले नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्ने जनाएका छन् । 

“ढिलै भएपनि नेपाली कांग्रेसको १४ औं महाधिवेशन हाम्रो सामु आएको छ । १८ गतेबाट देशव्यापी रुपमा वडाबाट हाम्रो पार्टीमा निर्वाचनको सुरुवात हुँदै छ । यो अवस्थमा हामीले अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने दिशामा र नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने दिशामा काम गर्नुपर्ने छ,’ पौडेलले भनेका छन् ।  

उनले नेपाली कांग्रेसलाई एउटा सवल, चिन्तनशील र लोकतन्त्रको प्रति निष्ठावान नेतृत्वको आवश्यकता रहेको बताएका छन् । 

‘म यो घडिमा अपिल गर्न चाहन्छु हामीले आफ्ना सानातिना नीजि कुराहरुलाई बिर्सेर, हाम्रा अगाडि रहेको महान लक्षलाई ध्यानमा राख्दै हामीले गर्दै आएको कठिन संघर्षलाई मूर्तरूप दिन, लोकतन्त्रलाई कसरी संस्थागत गर्ने, समृद्धिलाई अघि बढाउने, नेकाले कसरी सवल नेतृत्व हासिल गर्ने भन्ने कुरामा चिन्तित हुन र यो कुरामा साथीहरु गम्भिर हुनको लागि त्यही अनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न सम्पूूर्ण साथीहरुलाई अनुरोध गर्न चाहन्छु,’ नेता पौडेलले भनेका छन् । 

कोरोना महामारीबीच महाधिवेशन गर्नुपरेको कारण निर्वाचनको बेला स्वास्थ्य मापदण्डको पालना गर्न पनि उनले अनुरोध गरेका छन् ।