करोड डोज खोप लगाएपछि विश्व स्वास्थ्य संगठनले दियो नेपाललाई बधाई

काठमाडौं ।  छोटो समयमा धेरै जनतालाई कोरोनाविरुद्धको खोप लगाएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई बधाई दिएको छ।

छोटो समयमा १५ प्रतिशत जनतालाई पूर्ण खोप दिन सफल भएको भन्दै विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले नेपाललाई बधाई दिएकी हुन् ।

‘छोटो समयमा एक करोड डोज बढी खोप व्यवस्थापन गर्नु र कुल जनसंख्याको १५ प्रतिशत बढीलाई खोप दिलाउन सफल भएकोमा नेपाललाई बधाई ’ उनले भनेकी छिन।

असोज अन्तिमसम्म एक तिहाई जनतालाई खोप पुर्‍याउने लक्ष्य लिएको सरकारले मंगलबारसम्म पहिलो डोज १७.९ प्रतिशत र पूर्ण मात्रा १५. ४ प्रतिशतलाई दिन सफल भएको छ ।

खोप लगाउनका लागि तोकिएका २ करोड १७ लाख ५६ हजार ७६३ जना व्यक्तिमध्ये मंगलबारसम्म ५४ लाख २४ हजार ८३६ जना अर्थात (१७.९ प्रतिशत) र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना अर्थात १५.४ प्रतिशत पुगेको छ। पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड ९२ हजार १६४ जना रहेको छ। नेपालले कुन जनसंख्याको ३३ प्रतिशत जनतालाई खोप लगाउने लक्षण लिएको छ।

दक्षिणपूर्वी एसियाली देशमा कोभिड-१९ को खोप लगाउनेमा नेपाल अहिले भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड भन्दा अगाडी छ। नेपालमा अहिलेसम्म कोभिडविरुद्धको खोपमा कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनिका र जोनसन खोप लगाइएको छ। सरकारले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई पूर्ण खोप दिने प्रतिवद्धता जनाएको छ ।

यस्तै नेपालमा कोरोनाविरुद्धको खोप लगाउने संख्या भारतमा भन्दा धेरै रहेको छ। भारतमा हालसम्म १० दशमलब ६१ प्रतिशतले पूर्ण खोप लगाएका छन्। भने नेपालले अर्थात १५.४ प्रतिशत रहेको छ। यस्तै दक्षिण एशियाली देशमा पूर्ण खोप लगाउने सबै भन्दा धेरै भुटान रहेको छ। त्यहाँ ७५ प्रतिशतले खोप लगाइसकेका छन। यस्तै माल्दिभ्समा हाल सम्म कुल जनसंख्याको ५५ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन्।