तालिबान अनियन्त्रित पानशिर उपत्यकामा युद्ध

काठमाडाैं । अहिलेसम्म तालिबानले कब्जामा लिन नसकेको अफगानिस्तानको पानशिर उपत्यकामा भीषणा युद्ध भइरहेको छ ।

पानशिर उपत्यकाको सुरक्षाका लागि खटिएका समूह तथा तालिबान लडाकुबिच केही दिनदेखि भीषण युद्ध जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबान स्रोतले उपत्यका घेराउ गरेको बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । तर तालिबानलाई उपत्यकामा प्रवेश गर्न नदिनका लागि युद्ध गरिरहेको समूहले भने सो कुरा अस्वीकार गरेको छ ।

नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) का लडाकुहरुले तालिबानसँग युद्ध गरिरहेका छन् । एनआरएफका नेता अमरुल्लाह सालेहले आफू भागेको भनेर गरिएको दाबी झुट रहेको उल्लेख गरेका छन् । तर उनले अवस्था निकै कठिन रहेको भने स्वीकार गरेका छन् । पानशिरमा जारी भिडन्तको क्रममा सयौँ मानिस मारिएको दाबी छ ।

राजधानी काबुलको उत्तर तर्फ रहेको पहाडी उपत्यका पानशिर अफगानिस्तानको सानो प्रान्त हो । अहिले यहि प्रान्त मात्रै तालिबानको कब्जामा छैन । परम्परागत रुपमै पानशिर उपत्यका तालिबान विरोधी रहँदै आएको छ । त्यहाँको जनसंख्या डेढ लाखदेखि दुई लाखको बिचमा रहेको छ ।

तालिबानविरुद्धको युद्धमा पूर्व अफगान सुरक्षाकर्मी र स्थानीय लडाकु समूह सामेल छन् । स्थानीय आदिवासी नेता अहमत मासूदले एनआरएफको नेतृत्व गरेका छन् । उनका पिताले सन् १९८० दशकमा सोभियत युनियन र सन् १९९० को दशकमा तालिबानसँग सफल युद्ध लडेका थिए ।

अफगानिस्तानका पूर्व उपराष्ट्रपति समेत रहेका साहेलले भिडियो सन्देश जारी गरेर दुवै तर्फ हताहती भएको बताएका छन् । उनले भनेका छन्, ‘हामी कठिन अवस्थामा रहेको कुरामा कुनै शंका छैन । हामी तालिबानको आक्रमणको सामना गरिरहेका छौँ । तर हामीले आत्मसमर्पण गर्ने छैनौँ । हामी अफगानिस्तानका लागि उभिएका छौँ ।’