सरकारको चेतावनी, विदेशी आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्नू

काठमाडौं । गृह मन्त्रालयले विदेशी राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न सर्वसाधारणलाई चेतावनी दिएको छ।

गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विदेशी मित्रराष्ट्र, विदेशी नागरिक र उनीहरुको सम्पत्तिका विषयमा नकारात्मक टिप्पणी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण भएको उल्लेख गरेको हो।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्यस्ता नकारात्मक टिप्पणी गर्नेलाई गृह मन्त्रालयले सूक्ष्म निगरानी गरिरहेको र प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता अभिव्यक्ति र गतिविधिहरुको मन्त्रालयले सूक्ष्मरुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्नेउपर प्रचलित कानूनबमोजिम कारवाही समेत गरिने सबैमा जानकारी गराइन्छ।’