गोट्सेलाई गुरू मान्ने बीजेपीबाट निर्वाचित मेयरले हिन्दू मन्दिरमा डोजर चलाए

एजेन्सी । भारतमा जनता पार्टी (बीजेपी) लाई हिन्दू धर्मको संरक्षण गर्ने पार्टीका रूपमा चिन्ने गरिन्छ । कहिलेकाँही त नाथुराम गोट्सेलाई महान् र महात्मा गान्धीलाई गद्दार भन्नेसम्म बिजेपीकाे चरित्र हो ।

तर, गुजरातको सूरतमा बीजेपीबाट निर्वाचित मेयरले शासन गरिरहेको सूरत महानगरपालिकाले हिन्दू मन्दिर भत्काइदिएपछि हंगामा मच्चिएको छ ।

सूरत शहरको कापोद्रा क्षेत्रमा विकासमा बाधक बनेको वर्षाैं पुरानो रामदेवपीर मन्दिर भत्काइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दलबलसहित डोजर ल्याएर आएका नगरपालिकाका अधिकारीले मन्दिर ध्वस्त गरिदिएपछि स्थानीय आक्रोशित बनेका छन् । स्थानीयले विरोध जनाइरहेका छन् ।

बाल्मीकि समाजका आराध्या बाबा रामदेवपीरको वर्षाैं पुरानो मन्दिरमा जनविरोधका बाबजुद डोजर चलेको छ । पुजारी मधुभाई मावजीले महानगरका अधिकारीसामु बिन्ती गरेपनि कसैले सुनुवाइ गरेनन् ।

घटनापछि हिन्दू संगठन र सामाजिक सञ्जालमा बीजेपी र महानगरको आलोचना भइरहेको छ ।